
१४ मंसिर, काठमाण्डौ । एमाले बरिष्ठ नेता
माधवकुमार नेपालले प्रधानमन्त्री डा बाबुराम भट्टराई गणतन्त्रै सिध्याउने
षडयन्त्रमा लागेको आरोप लगाउनुभएको छ । प्रधानन्त्रीले गणतन्त्रका प्रतीकका
रुपमा रहेका राष्ट्रपतिलाई गालीगलौज गरेर भए पनि बदनाम गरी गणतन्त्रलाई
सिध्याउने षडयन्त्र गरिरहेको नेपालको आरोप छ ।
रिपोर्टस् क्लब नेपालका अध्यक्ष ऋषि
धमलाको नेतृत्वमा नेपाल निवास कोटेश्वर पुगेको पत्रकारको टोलीसंग बिहीबार
कुरा गर्दै एमाले नेता नेपालले भन्नुभयो,’पहिले राजतन्त्रका प्रतीक राजा
भएजस्तै अहिले गणतन्त्रका प्रतीक राष्ट्रपति हुन्, यही संस्थालाई सिध्याउन
एमाओवादी र प्रधानमन्त्री लागिरहेका छन् ।’उहाँले राष्ट्रपतिले दलहरुलाई
प्रधानमन्त्रीका लागि आहृवान गरेर एउटा जोखिम उठाइसकेकाले अब मुलुकलाई
निकास दिएरै छोड्नुपर्ने वताउनुभयो ।
नेपालले भन्नुभयो,’राष्ट्रपतिले एउटा
जोखिम त उठाइसक्नु भयो, अब यो जोखिमबाट मुलुकलाई निकास पनि राष्ट्रपतिकै
अग्रसरतामा हुनुपर्छ । नत्र मुलुक द्वन्द्वमा जान्छ ।’नेपालले काँग्रेस
नेतृत्वमा राष्ट्रिय सरकार वनाउन एमाओवादी बाहेक सबै दल सकारात्मक रहेको
बताउनुभयो । उहाँले भन्नुभयो, ‘एमाओवादीले काँग्रेसलाई नमान्ने र
काँग्रेसले एमाओवादीको सरकार स्वीकार नगर्नै वताइरहेका छन् । त्यस्तो
स्थिति आए हामी अर्को विकल्प दिन तयार छौँ । ’